इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त

काठमाडौँ, १६ पुस । इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।

को हुन् अञ्जान शाक्य ?

इजरालयका लागि नेपाली राजदूतमा बनेकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्। शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ।

सँगै उनले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्। परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्।

उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्। शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ।

शाक्य चर्चित गायिका समेत हुन्। उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको चर्चित गीत आएकी छन्। उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोतासमेत हुन्।