राष्ट्रिय क्रिकेट टोलीका कप्तान मुर्ताजा भारी मतसहित सांसद बने

एजेन्सी, १६ पुस । बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा प्रधानमन्त्री शेख हसिनाको दलबाट सांसद चुनिएका छन् ।

आइतबार सम्पन्न भएको आम निर्वाचनमा तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल -२ निर्वाचन क्षेत्रमा २ लाख ७१ हजार मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धीले भने ७ हजार ८ सय ८३ मत मात्र पाए ।

डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए । उनले यसअघि नोभेम्बरमा आफूमा सधैँ राजनीति गर्ने इच्छा रहेको बताएका थिए ।

३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन्। चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन् ।