सोलार पम्पले तेलकुवावासीमा ल्याएको परिवर्तन

तेलकुवा, बारा, १६ पुस | बारा जिल्लाको महागढीमाई नगरपालिका–७ तेलकुवाका किसानलाई केही वर्ष अगाडिसम्म पनि खान लाउन, छोराछोरी पढाउन र औषधि उपचार गर्न धौधौ थियो । तर दुईवर्ष अगाडि एउटा नयाँ प्रविधि आएपछि भने स्थिति फेरिएको छ । उनीहरु खाइलाई गरेर, छोराछोरी पढाउने तथा औषधि उपचार गरेर पनि दुई÷चार पैसा बचत गर्नसक्ने भएका छन् ।

पहिले यस गाउँमा सिँचाइको सुविधा नभएकाले परम्परागत रुपमा धान मकै, गहुँ, उखुको मात्र खेती गर्दथे । तरकारी खेती हुँदैन भनेर खेती गर्दैनथे र कलैयाबाट विषादीयुक्त तरकारी खरीद गरेर ल्याइखान्थे, विषादीका कारण बिरामी पर्दथे र उल्टै औषधि उपचारमा धेरै रकम खर्च गर्नुपर्ने बाध्यता थियो ।

उनीहरु साग खाँदैनथे, त्यसैले सागको खेती पनि गर्दैनथे । यहाँका स्थानीयवासीमा साग खाने मानिस तल्लो स्तरको हो र इज्जतदार मानिसले साग खाँदैनन् भन्ने मान्यता थियो । कसैले खेती गरिहाले पनि सिँचाइ अभावमा राम्रो नहुने हुनाले यहाँ तरकारी खेती नै हँुदैन भन्ने बुझाइ थियो ।

दुई वर्ष अगाडि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा तेलकुवा कृषि कम्पनी स्थापना गरी कम्पनीमार्फत नयाँ प्रविधिको सोलार पम्प जडान गरेपछि भने यहाँका किसानको अवस्था फेरियो । पहिले परम्परागत डिजेल पम्पबाट पानी तानेर खेती गर्न किसानहरु त्यति अग्रसर हँुदैनथे । डिजेल पम्पबाट सिँचाइ गर्न महँगो पर्दथ्यो अर्थात् दिनको रु २०० तिर्नु पर्दथ्यो । विद्युत् भए पनि अनियमित हुन्थ्यो । त्यसैले सहज नहुने तथा फाइदा नहुने भनेर तरकारी खेती नै गरिँदैनथ्यो ।

सोलार पम्प जडान गरेपछि भने समूहमा आवद्ध भएका किसानलाई निःशुल्क र समूह बाहिरका सदस्यलाई दिनको रु ५० देखि रु ७५ सम्ममा पम्पबाट सिँचाइ सुविधा उपलब्ध गराइयो । यस कम्पनीबाट एक ठाउँमा सोलारबाट पम्प चलाइन्छ भने पम्प गरिएको पानी पाइपबाट सम्बन्धित किसानका खेतमा पु¥याइन्छ ।

यस पम्पले गर्दा स्थानीय किसान (समूह बाहिरका) लाई सिँचाइवापत चार गुणा कम खर्च पर्न जाने भयो । यसका साथै सोलार पम्प भएकाले डिजेल किन्नुपर्ने र डिजेलको हानिकारक धुवाँमा काम गर्नुपर्ने बाध्यता हटेर वातावरण पनि सफा हुन थाल्यो । यसबाट स्वच्छ वातावरणमा काम गर्न पाइने हुनाले किसान आकर्षित भई लाभान्वित हुन थाले । कम्पनीले ‘एक घर एक करेला’ नाराका साथ तरकारी खेती अभियान नै शुरु गरेको थियो ।

किसानलाई घरमा एक तीतेकरेलाको बोट लगाएर महीनामा तरकारीमा हुने रु ४०० खर्च र वर्षमा विषादीयुक्त तरकारी खाँदा हुने रु १० हजार बराबरको औषधि खर्च बचाउनोस् भनेर अभियान चलाएको बताउनुहुन्छ तेलकुवा कुषि कम्पनीका प्रबन्ध निर्देशक अरविन्द शाह । उहाँ भन्नुहुन्छ, “यहाँ तरकारी खेती हुँदैन, सप्रँदैन भनेर परम्परादेखि नै तरकारी खेती हुँदैनथ्यो, कलैया बजार गएर तरकारी किनेर ल्याई खाइन्थ्यो । तर यो प्रविधि प्रयोग गरेपछि भने किसान तरकारी खेती गर्न थाले र आफूले खाएर पनि बचत गर्न पनि पुग्नेभयो ।”

अहिले यहाँ कम्पनीबाट समूहमा आवद्घ किसानको जम्मा ३० कट्ठा जग्गामा तरकारी खेती भइरहेको छ भने १० कट्ठामा खुर्सानी मात्र खेती हुन्छ । उत्पादनबाट नाफा भएन भनेपनि जग्गा वापत एक कट्ठाको भाडावापत वार्षिक रु ३ हजार दिइन्छ । हाल यहाँ मुला, गोलभेँडा, खुर्सानी आदि खेती भइरहेको छ ।

स्थानीय किसान शीवरतन पंणित आफूले पनि १० धुर जग्गामा तरकारी खेती गरी आफूले खाएर पनि वर्षको रु २० हजार फाइदा हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘पहिले साग खानु तल्लो स्तरको मानिने हुनाले कसैले खाँदैनथे, साग खाउ फाइदा हुन्छ भनेर सम्झाउनु पथ्र्यो । अहिले त सबैले साग लगायत तर्कारी खेती गर्छन् । सोलार पम्पले सिँचाइ गर्न सजिलो भएको छ, उत्पादन पनि राम्रो हुन्छ ।’’

अर्का स्थानीय किसान जयनारायण प्रसाद यादव भन्नुहुन्छ, ‘‘तरकारी खेती त यहाँ नयाँ कुरा हो, पहिले थिएन, सोलार पम्प आएपछि सिकायो । यसरी तरकारी खेती गर्न थालेको दुई वर्ष मात्र भयो । आलु तीन कट्ठामा लगाएकामा ४५ मन फल्यो । त्यसबाट खाएर पनि रु १० हजार बचत भयो ।’’

प्रबन्ध निर्देशक शाह भन्नुहुन्छ, ‘‘युएनडिपी सहयोगको प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत सौर्य ऊर्जाबाट चल्ने पम्प ल्याइएपछि पहिले खेती नहुने ठाउँमा पनि खेती हुन थाल्यो । जलवायु परिवर्तनका कारण पनि कतिपय खेती नहुने भएकामा सिँचाइका कारण सम्भव भयो । पहिले त हँुदैन भनेर जग्गा बाँझै छोड्थे । अहिले सोलार पम्पले चारगुणा कम खर्चमा सिँचाइ हुँदा किसान धेरै लाभान्वित भएका छन् । बत्ती भएपनि अनियमित हुँदा झन्झटिलो भएकामा अब भने घाम लागेको वेलामा सिँचाइ निरन्तर भइरहेकाले सबैलाई सुविधा पुगेको छ ।

प्रबन्ध निर्देशक शाहले कम्पनीमा २८ जना किसान प्रत्यक्षरुपमा आवद्घ भई सेवा लिइरहेका र अप्रत्यक्ष रुपमा सेवा लिने समेत गरी ४०÷५० घरधुरी रहेको जानकारी दिनुभयो । उनीहरु पम्पको सिँचाइ सुविधा पनि लिन्छन् र यहाँको नर्सरीमा भएका नयाँ नयाँ र उन्नत जातका तरकारीका बिउ, बेर्ना पनि लिएर जान्छन् । साथै बाटो पर्दा अन्य गाउँपालिका तथा नगरपालिकाका किसान पनि यहाँबाट जानकारी लिएर खेती गर्दछन् ।

उहाँको अनुभव छ, कम्पनी स्थापना हुनुअघि यहाँका व्यापारी पनि भारत तथा जिल्लाकै सिमरौनगढबाट तरकारी खरीद गरी जिल्ला सदरमुकाम कलैया लगेर बेच्थे भने अव उनीहरु पनि यहीँ उत्पादित तरकारी कलैया लगेर बेच्न थालेका छन् ।

उहाँका अनुसार युएनडिपीले सिँचाइ सुविधा पु¥याउने मात्र नभई उच्च मूल्यका कृषि उत्पादन बढाई त्यसको बजारीकरणसम्म हेर्नेगरी सहयोग पु¥याएको छ । यस आयोजनामा हालसम्म करिब रु ३५ लाख खर्च भएको र त्यसमा ६० प्रतिशत युएनडिपीबाट प्राप्त भएको र अन्य खर्च जनश्रमदान तथा सदस्यताबाट प्रतिपरिवार रु एक हजार ५०० उठाइएको बताउनुभयो ।

न्यूनतम् खर्च रु १५ लाखमा सोलार र पम्प जडान तथा कार्यालय भवन निर्माण गरिएको जसमा पाँच हर्सपावरको पम्प र चार हजार २०० वाटको सोलार प्यानल जडान गरिएको तथा पम्पबाट प्रतिदिन ८२ हजार लिटर पानी सिँचाइका लागि प्राप्त हुने बताउनुभयो ।

यसरी केही हुँदैन भनिएको ठाउँमा सिँचाइको व्यवस्था गरी तरकारी खेती गर्ने उपयुक्त बातावरण सृजना गर्ने हो भने निष्कृय किसान पनि खेतीमा सकृय भई आफ्नो आर्थिक उन्नति गरी आत्मनिर्भर हुनसक्ने प्रमाणित भएको शाह बताउनुहुन्छ । रासस