लुनिभाले जित्यो धिमेबाजाको उपाधि

भक्तपुर, १६ पुस | भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजार नगर पुरस्कारसहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

मेलमिलाप दिवसका अवसरमा फलफूल वितरण

बयालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज भक्तपुर अस्पतालमा नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिले फलफूल वितरण गरेको छ । समितिले दिवसका अवसरमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा अस्पतालका ६८ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिका सभापति राम कासुलासहितको टोलीले फलफूल वितरण गर्दै देशलाई मेलमिलापको नीतिअनुसार अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । रासस