भूकम्पको २२ घण्टापछि उदार गरिएका सोनिश पाँचौ वर्षमा प्रवेश, यसरी मनाइयो उनको पाचौं जन्मोत्सव

भक्तपुर, १६ पुस । २०७२ वैशाख १२ को महाभूकम्पमा २२ घण्टापछि सकुसल उद्धार गरिएका भक्तपुरका सोनिश अवाल हिजो आइतबारदेखि पाँचौ वर्षमा प्रवेश गरेका छन् ।

सोनिशको पाँचौं जन्मदिन नेवारी परम्पराअनुसार आइतबार मनाइएको छ । जन्मदिन मनाउन आमा रश्मिलाले बिहानै सोनिशलाई नुहाएकी थिइन् । परम्परा अनुसार उनलाई मामाघरबाट ल्याइएको नयाँ लुगा लगाइएको थियो । त्यसपछि सोनिशको पूजा गरिएको थियो । पूजाआजापछि सोनिशलाई चिउरा, मासु, तरकारी, उसिनेको अण्डा दहीलगायतका खाद्य परिकार राखी सगुन दिइएको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले सामान्यरूपले सोनिशको जन्मदिन मनाएको पिता श्यामले बताए । सोनिसको परिवारमा सोनिशसहित आमा रश्मिला, बुबा श्याम, दिदी सोनिया गरी चार जनाको परिवार रहेको छ ।

सोनिश यो वर्षदेखि भक्तपुरस्थित एभरेस्ट इङलिस स्कुलमा पढ्दैछन् । उनलाई एभरेस्टले निःशुल्क पढाइरहेको छ ।