प्रधानमन्त्री हसिनाकाे दलले २८१ क्षेत्रमा जित हासिल गर्दा विपक्षीद्वारा मत परिणाम अस्विकार, पुन: निर्वाचनकाे माग

एजेन्सी, १६ पुस । बंगलादेशमा आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाकाे दलले बहुमत ल्याएकाे छ ।

उनकाे दल अवामी लिग अत्यधिक मतका साथ विजयी भएको हो ।

त्यहाँस्थित निर्वाचन आयाेगले जनाए अनुसार कुल ३०० संसदीय क्षेत्रमध्ये हसिनाकाे दल अवामी लिगले अहिलेसम्म २८१ स्थानमा बहुमत हासिल गरेकाे छ ।

चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान पहिलेदेखि नै गर्दै आएकाे थियाे । यस चुनावमा बहुमत हासिल गरेसँगै शेख हसिना तेस्राेपटक बंगलादेशकाे प्रधानमन्त्री बन्ने पक्का भएकाे छ ।

मुख्य विपक्षी दल ब‌ंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ ।

२२१ संसदीय निर्वाचन क्षेत्रमा व्यापक धाँधली भएको बीएनपीका प्रवक्ताले आरोप लगाएका छन् । विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् ।

विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै मतदान सुरु नहुँदै बुथ बहिस्कार गरेका थिए । बीएनपीले निर्वाचनका क्रममा भएको झडपमा आफ्ना थुप्रै कार्यकर्तासमेत गुमाएकाे छ ।