त्रिविको ४४औ दीक्षान्त समारोह आज हुँदै

काठमाडौं, १६ पुस । आज त्रिभुवन विश्वविद्यालयको ४४औ दीक्षान्त समारोह हुँदैछ ।

५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने भएको छ ।

समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नेछन् ।

समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आएका छन् ।

पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् ।