सार्वजनिक सेवा सुदृढका लागि कार्य सम्पादन सम्झौता

काठमाडौँ, १५ पुस | गृह मन्त्रालयले सार्वजनिक सेवा थप सक्षम, सुदृढ, सेवामूलक बनाउने लक्ष्यका साथ काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

गृहसचिव प्रेमकुमार राई र काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज गृह मन्त्रालयमा कार्यसम्पादन सम्झौता भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयले बाँकी रहेका ७४ जिल्लामा आगामी १५ दिनभित्र त्यस्तै सम्झौता गराइने र भविश्यमा बहाल भई जाने सबै प्रमुख जिल्ला अधिकारीसँग पनि सोहीअनुसारको सम्झौता हुने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

सार्वजनिक सेवालाई उत्तरदायी, पारदर्शी र सूचनामूलक बनाउँदै जनतालाई सार्वजनिक सेवाको प्रत्याभूति दिलाउन त्यस्तो सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४ बमोजिम मन्त्रालयको कार्यसम्पादनमा संलग्न रहने प्रमुख जिल्ला अधिकारीसँग त्यस्तो सम्झौता गरिएको हो । रासस