म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ

कञ्चनपुर, १५ पुस | ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । म्याराथुन धावक कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धरको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको छ ।

म्याराथन मार्चमा एक हजार ३४७ जना खेलाडीले सहभागिता जनाएका छन् । सबैभन्दा बढीले हाफ म्याराथन खुला पुरुष दौड प्रतियोगितामा भाग लिएका छन् । एक्काइस किलोमिटर दूरीको सो दौडमा ७१३ प्रतिस्पर्धी सहभागी छन् ।

हाफ म्याराथनपछि ४६६ छात्रछात्राले दौडमा सहभागिता जनाएका छन् । यसमा छात्र १९७ र छात्रा २६९ छन् । छात्रछात्राको दौड पाँच किलामिटर रहेको छ । महिला खुला १० किलोमिटर दौड प्रतियोगितामा १६९ जना प्रतिस्पर्धी सहभागी छन् ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलसहित प्रदेश सांसद, राजनीतिक दलका नेता, सरकारी अधिकारी, जनप्रतिनिधि, खेलाडी र स्थानीयवासी सहभागी छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयदेखि छैटौँ स्थानसम्मका सहभागीलाई नगद पुरस्कारसहित पदक र प्रमाण दिने व्यवस्था गरिएको छ । यसमा पहिलोलाई रु १० हजार, द्वितीयलाई रु सात हजार, तृतीयलाई रु पाँच हजार, चौथोलाई रु तीन हजार, पाँचाँैलाई रु एक हजार ५०० र छैटौँलाई रु एक हजार पुरस्कार राखिएको छ ।

महिलाका लागि खुला १० किलोमिटर म्याराथुन प्रतियोगिता राखिएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार पुरस्कार तथा पदक र प्रमाण राखिएको छ । प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ । यो दौडमा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय रु २० हजार र तृतीयले रु १० हजार नगद पुरस्कारसहित पदक र प्रमाणपत्र पाउनेछन् । भीमदत्तनगर बजारको खुला मञ्चबाट शुरु भएको दौड भानुचोक, खैरेनी, नौलाखेत, बैजनाथ मावि नयाँ तिलकपुर हुँदै ब्रह्मदेवसम्मको २१ किलोमिटर छ । रासस