भारतलाई हराउदै स्वर्ण पदक जितेका महेश्वरलाई आफ्नै निवास बोलाएर प्रचण्डले बधाई दिदै भने : विश्व सामू नेपालीको शीर ठाडो पार्नु भयो

काठमाडौं, १५ पुस । नेकापाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थाइल्याण्डमा शारीरिक सुगठनमा स्वर्ण पदक जित्ने महेश्वर महर्जनलाई आफ्नै घरमा बोलाएर बधाई दिएका छन्। प्रचण्ड निवास खुमलटार पुगेका महर्जनलाई उनले खेलको माध्यमबाट देशको नाम राखेकोमा बधाई दिएका छन्। ‘तपाईंले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताएका छन्। भेटको क्रममा प्रचण्डले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको दाबी गर्दै नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए ।

थाइल्याण्डमा आयोजित शारीरिक सुगठन प्रतियोगितामा भारतलाई पछी पार्दै महेश्वरले स्वर्ण पदक जितेका थिए ।

०००

यो पनि हेर्नुहोस :

स्वर्णपदक विजेता महर्जन पुरस्कृत

काठमाडौँ, १५ पुस । नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ ।

हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो बनाएर सामाजिक एकता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफूले पनि अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाउनुभयो ।

सम्मानित महर्जनले खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजीत दत्त, नेत्रनाथ पौडेललगायतले महर्जनले अन्तर्राष्ट्रिय तहमा भएको उक्त प्रतिस्पर्धामा नेपाल र नेपालीको गौरव बढाएकामा खुशी व्यक्त गर्दै उहाँको जीवनको सफलताको शुभकामना दिनुभयो । रासस