चौतर्फी आलोचना भएपछि कटहरिया नगरपालिकाले आज दिने भनेको सार्वजनिक विदा रद्द !

रौतहट, १५ पुस । चौतर्फी बिरोध भएपछि रौतहटको कटहरिया नगरपालिकाले आज दिने भनिएको सार्वजनिक विदा रद्द गरिएको छ ।

नगरपालिकाले नगर प्रमुख जेलबाट छुटेको खुसीयालीमा बिदा दिनेबारे गरेको निर्णयलाई लिएर चौतर्फी आलोचना भएपछि बिदा रद्द गरिएको हो ।

यसअघि निमित प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटाले शनिवार प्रमुख स्तरीय निर्णयबाट सार्वजनिक विदा दिएको सूचना प्रकाशित गरेका थिए ।

सार्वजनिक विदाको आलोचना भएपछि आईतबार विहान मेयर सियाराम कुश्वाहले बिदा रद्द भएको सूचना प्रकाशित गरेका हुन् ।

बिश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैदको सजाय सुनाइएका मेयर कुश्वाहलाइ सर्वोच्च अदालतले निर्दोष सावित गर्दै सफाइ दिएको थियो । तर, उनलाई उच्च अदालतको फैसला पछि सिआइबीको टोलीले वैशाखमा काठमाण्डौ बाट पक्राउ गरेको थियो ।