पहिलो पटक नेपालीको लगानीमा कोरियामा खुल्यो ‘स्टार रेमिट’ कम्पनी !

सिओल, १५ पुस । दक्षिण कोरियामा नेपालीकै लगानीमा विप्रेषण कम्पनी प्रारम्भ भएको छ ।

कोरियाले रेमिट्यान्स कम्पनीलाई पनि प्रवेश दिएपछि व्यवसायी रुद्र शर्माले स्वीकृति लिएरै विप्रेषण कारोबार सुरु गरेका हुन् ।

रेमिट कम्पनीहरुलाई कारोबार अनुमति खुला गरेको एक वर्षपछि नेपाली लगानीकर्ताले विप्रेषण कारोबार सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।

यसअघि कोरियाली लगानीकर्ताहरुले सञ्चालनमा ल्याएका रेसिट्यान्स कम्पनीले मात्रै कार्य गरिरहेका थिए । आइतबारदेखि औपचारीक रुपमा सञ्चालनमा आएको कम्पनी ‘स्टार रेमिट’ नेपालीमार्फत सञ्चालित पहिलो रेमिट कम्पनी हो ।

कम्पनीले कोरियाबाट नेपालसहित १७ देशमा आफ्नो सेवा एकैसाथ सञ्चालनमा ल्याउने शर्माले बताए । रेमिटले नेपालमा इशारा रेमिट, सेवा रेमिट र कुमारी बैंकसँग सहकार्य गर्ने जनाइएको छ ।

नेपालीहरुकै लगानीलाई प्रोत्साहन गर्नका लागि ‘स्टार रेमिट’को उपयोग गर्न यहाँ रहेका नेपालीलाई शर्माले आग्रहसमेत गरेका छन् ।

कोरियामा बैंकहरुको एकाधिकारलाई तोड्दै गतवर्ष यहाँको सरकारले रेमिट कम्पनीलाई पनि कारोबारको अनुमति दिएपछि धमाधम रेमिट कम्पनीहरु सञ्चालनमा आइरहेका छन् ।