प्रधानमन्त्री ओलीको प्रतिबद्धता : ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि निर्मलाका हत्यारा खोज्छु !’

काठमाडौं, १५ पुस । निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वचन दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष समेत रहेका ओलीले यस्तो बचन दिएका हुन् ।

नेकपा नेता योगेश भट्टराईका अनुसार प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको र आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउने बचन दिएका हुन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ ।