कन्दमूल खाएर ‘पुसे पन्ध्र’ मनाइँदै

डोटी, १५ पुस | सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ ।

यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ । डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको डोटी बोगटान गाउँपालिका सिमीचौरका स्थानीयवासी हेमबादुर बुढाले बताउनुभयो ।

आज राति मीठा खानेकुरा पकाएर खुवाउने, रातभरि जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । यति मात्र नभई सुदूरपश्चिमभरिमा आजको रातलाई पन्नरी रातसमेत भन्ने चलन छ । आजको रातिमा तरुल, तेकुना, फर्सी, पिँडालु, सख्खरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको शिखर नगरपालिका–१ कप्पलेकीका स्थानीयवासी अनिल शाहीले बताउनुभयो ।

पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानीयवासी दिनभरि जङ्गलमा गएर तरुललगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन् । पुस १५ देखि दिनहरु बिस्तारै लम्ँिबदै जाने किंवदन्ती रहेको छ । आज राति खानका लागि यहाँका बजारहरुमा विभिन्न जङ्गली कन्दमूल बिक्री वितरण गर्नेहरुको बिहानदेखि घुइँचो लागेको दीपायल पिपल्लाका स्थानीय व्यापारी लेकबहादुर देउवाले बताउनुभयो । रासस