रवीन्द्रज्यू, यस्तो पाराले वैकल्पिक पार्टी बन्ला त?

यो लेख लेख्नको लागि उत्प्रेरणा विवेकशील साझा पार्टीका एक संयोजक रवीन्द्र मिश्रले पोखरामा नायिका मनिषा कोइरालालाई भेटेर लेखेको ट्वीट पढेर आएको हो। उक्त ट्वीट पढ्दा म विवेकशील साझा पार्टीकै एक नेतासँग बसेर चिया गफ गर्दै थिएँ। मैले त्यस ट्वीटको जवाफ ट्वीटबाट नै दिन्छु भन्ने ठानेको थिएँ तर घर फर्कंदै गर्दा केही ट्वीटहरुले मात्रै मेरा मनमा उठेका विचारहरुलाई न्याय गर्न सक्दैनन् भन्ने ठानी यो लेख लेखेको छु।

त्यस ट्वीटको व्यहोरा यस्तो थियो, ‘मनिषाजी, तपाईंको राजनीतिक रगत छ, वैकल्पिक पार्टी निर्माणमा ठोस भूमिका निर्वाह गर्नुभयो भने त्यसको देशव्यापी असर कस्तो पर्ला, गम्भीरतापूर्वक विचार गर्नुस् न।’ यो ट्वीट पढेपछि मिश्रज्यूले मनिषा कोइरालालाई वैकल्पिक राजनीति (विवेकशील साझा पार्टी) को शुभेच्छुक वा साधारण सदस्य बन्नुस् भनेको त पक्कै पनि होइन भन्ने नै बुझेँ। उहाँलाई विवेकशील साझा पार्टीको नेतृत्व तहमा बसेर काम गरौं भन्ने प्रस्ताव नै हो भन्ने लाग्छ। साथै मिश्रज्यूले तत्कालीन साझा पार्टी खोल्नु अगाडिका लेखहरु सम्झिएँ (रमेश खरेल, लीलामणि पोखरेल, स्वर्णिम वाग्ले एक ठाउँमा आए त देश बनिहाल्छ नि !), विवेकशील साझा पार्टीमा उहाँले व्यक्त गरेका विचारहरु स्मरणमा आए (महेन्द्र र वीपी किन नमिलेका होलान् ?) र उहाँका विचारहरु प्रति अन्य बुद्धिजीवी तथा विश्लेषकहरुका टिप्पणी पनि याद आए (महेन्द्र र वीपी मिलून् भन्ने अपेक्षा राख्नु टीठलाग्दो आशा हो!)।

सबभन्दा महत्वपूर्ण १६ महिना उहाँको नेतृत्वमा पार्टीमा बिताएका पलहरु पनि सम्झिएँ (न त वैचारिक प्रष्टता न त संगठन विस्तार बरु बोल्दा बोल्दै कहिलेकाहीँ चिप्लिएर भन्नुभयो, ‘संवृद्धि नदेखीकन त मलाई कालले पनि लान सक्दैन !’)। अनि आफैँलाई प्रश्न गरेँ, ‘के मिश्रजीले भनेजस्तै मनिषा कोइराला विवेकशील साझा पार्टीमा आए के त्यसले साँच्चिकै देशव्यापी असर पार्ला त?’

त्यस प्रश्नको उत्तरमा जानु अगाडि उहाँको नेतृत्वमा बनेको तत्कालीन साझा पार्टीमा उहाँले कस्तो प्रयास गर्नुभयो र त्यसको नतिजा कस्तो आयो भन्ने तिर जाऊँ। उहाँले त्यतिखेर समाजमा आफ्ना विधामा उत्कृष्ठता हासिल गरेका व्यक्तिहरुलाई समावेश गरेर देशमा संवृद्धि ल्याउने भन्ने उद्देश्य राखी गठन गर्नुभयो। अजयभद्र खनाल त केही समयमा नै त्यहाँबाट अलग्गिनु भयो। सरोज धितालले पार्टी एकीकरण भएको केही समयमा नै राजनीतिक यात्राबाट बिराम लिनुभयो भने रेशु अर्याल ढुंगानालाई पनि पार्टीमा रहेर भन्दा बाहिर रहेर नै बढी योगदान गर्न सकिन्छ भन्ने लाग्यो र उहाँले पनि पार्टीसँगको नाता तोड्नुभयो।

साहसका प्रतिमूर्ति र राजनीतिक तथा सामाजिक अभियन्ता ओम प्रकाश अर्याललाई पनि विवेकशील साझा पार्टी बोझिलो हुँदै गयो र यसको भारी बिसाउनुभयो। ती व्यक्तिहरुलाई जोड्ने धागो कमजोर भएर हो वा मिश्रज्यूको नेतृत्वदायी क्षमता कमजोर भएर वा दुवै भएर हो, समाजले पत्याएका प्रतिभावान् तथा विभिन्न विधामा उत्कृष्ठता हासिल गरेका नेताहरुले समाजलाई योगदान गर्नको लागि पुग्नुपर्ने गन्तव्यमा जानको लागि उहाँले चलाएको गाडीमा बस्न अस्वीकार गरे।

मिश्रजीले राजनीतिलाई भनेको समाजसेवाको लागि कुनै संस्था तथा अभियानको लागि पैसा संकलन गर्ने प्रक्रिया ठानेको हो कि जस्तो लाग्यो। उहाँलाई अहिलेसम्म बुझेको आधारमा भन्नुपर्दा उहाँलाई सिद्धान्त, विचारधारा र मूल्य मान्यतामा धेरै विश्वास छैन। आवश्यक परेको ठाउँमा भनि पनि दिनुहुन्छ तर उहाँको विश्वास (convictions) मा ती भनेका खासै आफूलाई पायक पर्दा भनिने कुरा हुन् न कि अभ्यास गरिने विषयहरु। उहाँको नेतृत्वमा चलेको पार्टीमा रहँदाको मेरो १६ महिनाको अनुभवले त्यही बताउँछ। त्यसैले उहाँलाई मनिषा कोइरालालाई उहाँको विश्वास केमा छ भन्ने बारेमा जान्नु तथा सोध्नु खासै महत्वपूर्ण लागेन किनकि त्यो लफडामा किन फस्नु भन्ने उहाँलाई लाग्छ। कोइरालालाई कस्तो सिद्धान्तमा रुचि छ भन्ने जान्नु पनि उहाँको लागि सान्दर्भिक लागेन किनकि उहाँले पनि खासै कुनै सिद्धान्तमा विश्वास गरेको जस्तो लाग्दैन उहाँका लेख रचना पढ्दा।

शायद उहाँलाई मनिषा कोइराला ल्याउनु भनेको म्यानचेस्टर युनाइटेड भन्ने फुटबल क्लबले कोही औसत खेलाडीलाई जर्सी बिकाउनको लागि क्लबमा अनुबन्धन गरेको हो जस्तो लाग्दो हो। नत्र केही पनि समानता नखोजीकन रगतमा नै राजनीति भएको मान्छेलाई किन खोजेको होला ? वास्तविक राजनीतिक/सामाजिक जीवनका नायक ओम प्रकाश अर्याल तथा माथि उल्लिखित अन्य व्यक्तिहरु नटिक्ने पार्टीमा पर्दाकी नायिकाले के गर्लिन् भन्ने ठानेको होला भन्ने सोचेर नै म रनभुल्लमा परेँ।

म विवेकशील साझा पार्टीमा तत्कालीन विवेकशील नेपाली दलबाट समावेश भएको हुँ। दुई पार्टीबीच एकता गर्दा पार्टीमा मूल्य मान्यता तथा राजनीतिक चिन्तन उस्तै उस्तै भएका दुई दल मिल्दा समाजमा अलि बढी परिचित व्यक्तिहरुको प्रभावलाई अभियानमा खारिएकाहरुको शक्तिले एक आपसमा परिपूरकको भूमिका खेल्लान् भन्ने लागेको थियो। तर सम्बन्ध सुरु गर्नु अगाडि देखिएको परिदृश्य सम्बन्ध सुरु गरिसकेपछि उस्तै नदेखिए जस्तै पार्टी एकीकरणको मामलामा पनि त्यस्तै देखियो। माथि नै भने जस्तो बोल्नलाई जे पनि बोलिदिने किनकि त्यस्तो बोलेपछि ताली पाइन्छ तर व्यवहारमा लागु गर्न रुचि नदेखाउने तथा बोली र व्यवहारमा तादात्मयको अपेक्षा गर्नेहरुलाई विभिन्न उपायबाट निरुत्साहित गर्ने प्रवृत्ति नै रहेछ उहाँको।

यही प्रवृत्तिले गर्दा आजित भएर धेरै साथीहरुले पार्टी परित्याग गरिसक्नु भएको छ केन्द्रीयदेखि स्थानीय तहसम्म र पार्टीमा सदस्यहरुको खासै उत्साह पनि छैन। जुन जुन कुरामा एक अर्काको परिपूरक होलान् भन्ने अपेक्षा गरिएको थियो त्यस्तो उपलब्धि हासिल भएन बरु तिनै गुणहरु सम्मिश्रण हुँदा चाहिँ कुनै पनि काम गर्न नसक्ने गरी पार्टी न हाँसको चाल न कुखुराको चालको अवस्थामा पुग्यो। र अब यस्तो अवस्थाबाट बाहिर निकाल्न उहाँले पार्टीका साथीहरुले दिएको सुझावलाई मनन गर्नुको साँटो सदस्य तथा आम नागरिकलाई भुल्याउने बाटोतिर लाग्नुभएको भन्ने लाग्छ।

चिया गफ गर्दै गर्दा केन्द्रीय सदस्यले पार्टी संयोजक मिश्रज्यूको स्थितिको बारेमा समीक्षा गर्दै भन्नुभयो, ‘उहाँ त वरपरका मान्छेको कारणले नराम्रोसँग फस्नुभयो है ?’ मैले भनेँ, ‘यदि उहाँलाई फसेको मान्ने हो भने त गिरिजाप्रसाद, केपी ओली, प्रचण्ड, बाबुराम, शेरबहादुर सबैलाई फसेको मान्नुपर्यो, म चाहिँ त्यो मान्न तयार छैन। नेतृत्वको एउटा गुण भनेको नै निश्चित उद्देश्यको लागि आफ्नो वरिपरि उपयुक्त क्षमताका सही व्यक्तिहरूको चयन गरी परिचालन गर्ने जसले गर्दा परिणाम ती पात्रहरूको व्यक्तिगत क्षमताको कूलभन्दा बढी हुन्छ। यदि उहाँले आफ्नो वरपरको समूह नै गतिलो बनाउन सक्नुभएन भने त उहाँको नेतृत्वको असफलताकै रूपमा बुझ्नुपर्छ र त्यसमा खासै बहानाबाजी गरिराख्नु जरूरी छैन। ’

हाम्रो राजनीतिमा पार्टी मिल्ने प्रक्रिया चाहिँ सिद्धान्तमा समानता तथा राजनीतिक आवश्यकताको आधारमा तय हुन्छ जुन आवश्यक छन् तर पूर्ण चाहिँ छैनन्। त्यसलाई पूर्णता दिनको लागि कुन कुन मूल्य मान्यतालाई कसरी हेर्ने तथा त्यसको कसरी कार्यान्वयन गर्ने हो तथा काम गर्ने संस्कार चाहिँ कस्तो हुने हो भन्ने कुरामा चाहिँ प्रष्ट हुनैपर्छ (यो भैरहेका पार्टीहरुको सञ्चालनको हकमा पनि लागु हुन्छ)। नेतृत्व वर्गले यो आधारभूत कुरामा ध्यान दिएन भने न त जोडिएका पार्टीहरुले नै गतिलोसँग गति लिन सक्छन् न त भैरहेका पार्टीहरुको नै प्रगति हुन्छ।

अब रवीन्द्र मिश्रज्यूको अगाडि पनि यही प्रश्न छ, आफूसँग बाँकी रहेका सहयात्री साथीहरुसँग बसेर ती कुराहरुमा प्रष्टता ल्याई आवश्यक परेको ठाउँमा आफूलाई पनि परिवर्तन गर्ने विनम्रता देखाउने कि भौतारिँदै कहिले मनिषालाई पार्टीमा आऊ भन्ने र कहिले उनकी हजूरबुबा वीपीले महेन्द्रसँग मिलेको भए कति गजब हुन्थ्यो भन्ने गैर राजनीतिक लाग्ने अभिव्यक्ति दिँदै हिड्ने व्यक्ति बन्ने? त्यसैमा वैकल्पिक राजनीतिको केन्द्रमा रहेको विवेकशील साझा पार्टीको यात्रा निकट भविष्यमा कतातिर जान्छ भन्ने कुरा निर्धारण हुन्छ।