‘चाक्चाकुरमा कण्डम वितरण’ समाचारप्रति कुलङ संघले आपत्ति जनाउंदै निकाल्यो प्रेस विज्ञप्ति ( विज्ञप्ति सहित)

काठमाडाैं, १५ पुस । कुलुङ समुदायका प्रमुख पर्व मिनारी दाचाम् (चाक्चाकुर) काे अवसरमा ‘कण्डम वितरण’बिषयमा लेखिएको समाचारप्रति कुलङ सङ्घले आपत्ति जनाएको छ ।

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले एक विज्ञप्ति जारी गर्दै यस बिषयमा आपत्ति जनाएको हो ।

महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यले पर्वको अवसरमा नियोजित तथा सामाजिक संरचनामा खलल पुग्ने गरी कण्डम वितरण गर्ने काम गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आचार्यले दिएको ‘फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको’ अभिव्यक्ति निन्दनीय भएको कुलुङ सङ्घको ठहर छ ।

आफ्नो समुदायको पवित्र पर्वको अवसरमा लाग्ने मेलालाई नियोजित तथा सामाजिक संरचनामा खलल पुग्ने समाचार संप्रेषण भएकाले कुलुङ समुदायलाई स्तब्ध बनाएको कुलुङ सङ्घको निष्कर्ष छ ।

यस घटना लगत्तै महाकुलुङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक आचार्यले सार्वजनिक रूपमा अभिव्यक्ति सच्याउनु पर्ने जरी विज्ञप्तिमार्फत जनाइएको छ ।

शुक्रवार एक राष्ट्र दैनिक पत्रिकाको अनलाइनमा ‘चाकचाकुरमा यौन दुर्घटना रोक्न कण्डम वितरण, होटेलमा समेत राखियो’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । यद्यपि आपत्तिपछि समाचारकाे हेडलाइन सच्चाइएकाे छ ।