चिसो बढेसँगै राजधानीका अस्पतालमा बिरामी खचाखच : नवजात शिशु, सुत्केरी र बृद्ध बृद्धाको संख्या बढी

काठमाडौं, १५ पुस । राजधानीसहित मुलुकभर अत्याधिक चिसो बढेका कारण सर्बसाधारण बिरामी हुन थालेका छन् ।

अघिल्लो दिनभर स्वस्थ रहेको व्यक्ति भोलिपल्ट सिलिस्ता बिरामी भै अस्पताल भर्ना हुनु पर्नेसम्मको अवस्था सिर्जना भएको छ । यसरी अचानक बिरामी हुनुको कारण चिसोसँगै वायु प्रदूषण रहेको विज्ञहरूको भनाइ छ ।

मंसिरदेखि माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै भए पनि यसपटक भने अझ बढी चिसो भएको छ मौसमविद् मणिरत्न शाक्यको भनाइ छ । मौसमविद्का अनुसार यो वर्ष अरू वर्षको भन्दा अलि बढी नै जाडो छ । यो बढ्ने सम्भावना पनि अत्यधिक छ । पुस सुरुदेखि नै तापक्रम घट्दो क्रममा छ । बदलिँदो वातावरणका कारण हुने उतारचढावले जीवन कष्टकर हुँदै गइरहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले बताइन् ।

एकातिर ओरालो लाग्दो तापमान, अर्काेतिर ठूलो विपत्तिले टहरामा नै जाडो बिताउनेहरूको समस्या भने झन् विकराल देखिएको छ ।

चिकित्सकहरूका अनुसार गत वर्षभन्दा यस वर्ष जाडोका कारण बिरामी हुनेको संख्या बढ्दो क्रममा छ । बिरामीको संख्या अझै बढ्न सक्ने देखिन्छ । बिरामी हुनेमा मुख्यतः नाबालक, सुत्केरी महिला र बूढापाका बढी छन् । चिसोले नवजात शिशुलाई दीर्घकालीन असर पार्छ । सानै उमेरमा बिरामी हुने बच्चाको रोगसँग लड्ने इम्युनिटी पावरमा कमी आउँछ । अझ गर्मीमा भन्दा जाडोमा बच्चाहरू बढी बिरामी हुन्छन् । त्यसैले, शिशु स्वास्थ्यमा ध्यान पु¥याउनु जरुरी रहेको चिकित्सकले बताएका छन् ।