यी व्यक्ति को हुन् ? जसले ३२ सालमा राजा वीरेन्द्रको हेलिकप्टर नै बेपत्ता पारिदिए

काठमाडौं – २०३२ साल भदौ/असोजमा राजाको धनकुटा सवारी थियो । एउटा हेलिकप्टरको मर्मत पनि थियो । कुनै हेलिकप्टर मर्मतको काम भए इञ्जिनियरले आफै इञ्जिन स्टार्ट गरेर पंखा घुमाउन पाउँदैन, त्यो पाइलटले नै गर्नुपर्छ ।

त्यसैले आर.पी. प्रधानले मलाई यहि बस्न भनेर अर्को कोपाइलट लिएर गए । शाही उडानको सेकेन्ड इन कमान्ड भएकाले उनले मलाई त्यो काम जिम्मा लगाए ।

मर्मतपछि मैले परीक्षण उडान गर्नुपर्छ । एक जना बौद्ध गुरुले हाम्रो हेलिकप्टर चार्टर गरिरहन्थे । परीक्षण उडान गर्नुपर्ने भए आफूलाई पनि सिन्धुपाल्चोकको हेलम्बु गुम्बासम्म लिफ्ट दिन उनले भने । कुसु गुरु भनिने उनको राजा वीरेन्द्रसँग पनि राम्रो सम्बन्ध थियो । धेरै चार्टर्ड गरेबापत उनलाई एक पटक निःशुल्क उडाउनु पनि थियो ।

इञ्जिनियरले आधा घण्टा परीक्षण उडान गर्न भने । मैले झल्याँस्स तिनै गुरुलाई सम्झे र विमानस्थलसम्म आउन भने । उनलाई लिएर हेलम्बु गुम्बामा अवतरण गरेँ । चिया पिउन अनुरोध गरे, गुरुले भनेको नमान्ने कुरा भएन । १० मिनेटको उडान भनेको आधा घण्टा बितेछ । टावरलाई जानकारी दिन पनि भुलेँछु, रेडियो पनि बन्द गरेँछु । टावरले खोज्न थालेछ । सम्पर्कमा नआएपछि धनकुटाको सवारी क्याम्पमा खबर गरिदिइसकेछ, राजाको हेलिकप्टर त रयो भनेर । चिया पिएर काठमाडौं आउँदा त पूर हल्ला खल्ला भइसकेको रहेछ ।

मैले बाथरुम जानु परेकाले ढिलो भयो भने । दरबारबाट स्पष्टीकरण सोधियो, आफ्नो गल्ति स्वीकारेँ । जागिरको दौरान मैले स्पष्टीकरण खाएको त्यो नै एक मात्र घटना हो । तिनै गुरुले फेरि हेलिकप्टर चार्टर्ड गरे । उनलाई सोलुखुम्बको फाप्लु गाउँ नजिकैको जुनबेसी गुम्बामा जानु थियो । त्यहाँ लामाहरूको गाउँ छ । घरैघरको बीचमा गुम्बा रहेछ । गुरु धेरै मोटा थिए, हिँड्न सक्दैनथे । घोडा पनि पाइने सम्भावना थिएन । मैले फाप्लुमै उनलाई छाड्नु पर्ने थियो । त्यहाँसम्म पुगाइदिन अनुरोध गरे ।

मानवीयताले मैले पनि हार्न सकिनँ । गुम्बा यस्तो अप्ठ्यारो ठाउँमा रहेछ कि पाँच फिट यतायता भए पनि रोटरले भित्तामा छुने थियो । गुरुलाई दायाँ हेर्न भने, आफूले बायाँ हेरे । विस्तारै सासै नफेरी अवतरण गरे । जमिनमा पुगेपछि हेर्छु त रोटार र पर्खालबीच आवश्यकताभन्दा निकै कम ग्याप थियो । इञ्जिनियर पनि छक परे । त्यस्तो गाउँमा उतारेको देखेर । अहिले मलाई कसैले दश करोड दिन्छु भन्यो भने पनि त्हाँ अवतरण गर्दिन । कस्तो दुस्साहस पलाएछ मलाई, त्यतिबेला ।

गुरुलाई उतारेपछि फेरि विस्तारै माथि उठेँ र घरभन्दा माथि आइपुगेर तुफान गतिमा फर्किए । गुरुप्रति श्रद्धा जनाउँदा कसो दुर्घटनामा नपरेको । हावाले अलिकत हल्लाइदिएको भए जे पनि हुन सक्थ्यो । लहडमा कहिलेकाहि यस्तो काम पनि हुन्छ जुन पाइलटले गर्नै हुँदैन ।

“माथि प्रस्तुत अंश क्याप्टन रतन लामिछानेको जीवनीमा आधारित ‘आकाशको दुनियाँ’बाट साभार गरिएको हो । घोस्ट राईटिङ नेपालले प्रकाशन गरेको यो कितावका सम्पादक पत्रकार उपेन्द्र पोखरेल हुन् । क्याप्टन लामिछानेको निधन भइसकेको छ ।”