पाँच समाजसेवी सम्मानित

काभ्रेपलाञ्चोक, १४ पुस | मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बनेपामा आयोजित एक कार्यक्रममा पाँच जना सामाजिक अभियन्तालाई सम्मान गर्नुभएको छ ।

सुभास स्मृति प्रतिष्ठानको पन्ध्रौँ साधारणसभामा रेग्मीले आज नेपाल सरकारलाई राष्ट्रिय पुस्तकालयका लागि ठमेलस्थित केशरमहल प्रदान गर्ने लोकभक्त राणा, विभिन्न विद्यालय र सामाजिक संस्थाका लागि जग्गा प्रदान गर्ने देवीप्रसाद उपे्रती र कृष्णमणि कुइँकेल, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने सावित्री जङ्गम थापा र महिला तथा सामाजिक क्षेत्रमा काम गर्ने गङ्गा केसीलाई सम्मान गर्नुभयो ।

रेग्मीले प्रतिष्ठानमार्फत पनौतीका सुभास खड्काको मृत्युवरण स्थाल खाँदबारीस्थित हिमालयन माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।

उहाँले सो अवसरमा हरि मञ्जुश्रीद्वारा लिखित ‘केही गएका, केही रहेका’ नामक निबन्ध सङ्ग्रहको पनि सार्वनिकीकरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले मै खाउँ, मै लाउँ भन्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने आवश्यकता औँल्याउँदै पे्ररणादायी र जीवन्त रहने सामाजिक काम गर्न आग्रह गर्नुभयो । रासस