नागोया अभिसन्धिमा नेपालको प्रवेश

काठमाडौँ, १४ पुस | आनुवंशिक स्रोतमाथिको पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिमा नेपालले प्रवेश गर्ने भएको छ ।

जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको नागोया अभिसन्धिमा प्रवेश गर्ने सम्बन्धमा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घमा औपचारिक पत्र दर्ता गरेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाले अनुमोदन गरेको उक्त अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेको पत्र महासचिव एन्टोनियो गुटरेशसमक्ष आज प्रस्तुत गरिएको संयुक्त राष्ट्र सङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

औपचारिक पत्र प्रस्तुत गरेको ९० दिनपछि नेपाल उक्त अभिसन्धिमा प्रवेश गर्नेछ । त्यससँगै उक्त अभिसन्धिमा प्रवेश गर्ने नेपाल ११६ औं देश बन्नेछ । रासस