झापामा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा ५ घाइते

झापा, १४ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धर्मपुर चोकमा बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।

शुक्रवार अपरान्ह पौने ५ बजे बिरामी बोकेर पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिंदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका-४ बस्ने वर्ष ३५ को लाला उराव, अर्जुनधारा नगरपालिका-९ बस्ने बिरामी वर्ष ४६ को चन्द्र बहादुर बस्नेत, एम्बुलेन्समा सवार सोही ठाउँकी वर्ष ४० की जानुका कुवँर, वर्ष ३७ की चेतन कुमारी गौतम र वर्ष ३४ को ज्ञान बहादुर बस्नेत रहेका छन् ।

घाइते सवै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने बस, चालक र एम्बुलेन्सलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।