शीर्ष स्थानको लिभरपुल र आर्सनल आज राति भिड्दै, खेल रोमान्चक हुने

काठमाडौं, १४ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज राति साबिक बिजेता लिभरपुल र आर्सनल भिड्दैछन् ।

यी दुईबिचको खेल आज राति नेपाली समयअनुसार ११ः१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ ।

लिगको शीर्षस्थानमा रहेको लिभरपुल आर्सनललाई पराजित गर्दै आफ्नो अग्रता अझै बढाउने दाउमा हुनेछ ।

लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टो फिर्मिनो र जरदान शाकिरी जस्ता खेलाडीहरुको साथ रहेको छ । उनीहरुले जुनसुकै बेलापनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।

यता, पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई उसकै मैदानमा पराजित गर्दै कम्तीमा पनि एक दिनको लागि भएपनि चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

१९ चरणका खेल सकिँदा लिभरपुल ५१ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल ३८ अंक सहित पाँचौं स्थानमा छ ।