प्रदेश लोकसेवा आयोगको विधेयक संसदमा पेश

काठमाडौं, १४ पुस । सरकारले प्रदेश लोकसेवा आयोगसम्बन्धि विधेयक संघिय संसदमा पुर्याएको छ ।

प्रदेश लोकसेवा आयोग गठन गर्ने आधार र मापदण्डसहितको विधेयक आइतबार दर्ता हुने क्रममा रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार प्रतिनिधिसभामा विधेयक पुर्‍याए पनि दर्ता हुन सकेको छैन । केन्द्रले प्रदेश लोकसेवा आयोग गठनको बाटो खोल्न यो विधेयक ल्याएको हो । प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित बढीमा तीन सदस्य रहने प्रस्ताव सरकारले विधेयकमा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा दर्ता गर्न तयार गरेको विधेयकअनुसार अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा एक सिफारिस समिति गठन हुनेछ । सिफारिस समितिमा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन् । समितिको सिफारिसमा प्रदेश प्रमुखले लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्ति गर्नेछन् ।