खुशीको खबर : पुस १५ (भोलि)देखि श्रम स्वीकृतिको काम अब स्थानीय तहबाटै

काठमाडौँ, १४ पुस । वैदेशिक रोजगारीमा जाने युवाहरुले श्रम स्वीकृति लिन अब राजधानी नै धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशबाटै श्रम स्वीकृति दिने निर्णय गरेसंगै राजधानी धाउनु पर्ने बाध्यताको अन्त्य भएको हो ।

वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन् ।

आवश्यक प्रकृया पूरा गर्न उनीहरू राजधानी काठमाडौँमा आउनुपर्ने बाध्यता छ । राजधानीमा बस्दा खर्च धेरै हुने र समयको नोक्सानी समेत हुने गरेको गुनासो वैदेशिक रोजगारीमा जानेहरूले गर्दै आएका थिए ।

नयाँ निर्णय अनुसार पौष १५ बाट देशभरका ११ वटा कार्यालय मार्फत् वैदेशिक रोजगार सम्बन्धी सेवाहरू उपलब्ध हुनेछन् ।

त्यस्ता कार्यालयहरू झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा छन् ।

श्रम स्वीकृतिको प्रकृया व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीका शाखाहरूले पनि गर्न सक्ने बताइएको छ ।

यद्यपी काठमाडौँमा रहेका म्यानपार कम्पनीमार्फत् श्रम स्वीकृतिको प्रकृया अगाडि बढाएका कामदारहरू भने काठमाडौँ आउनु पर्नेछ ।