बम्जनपीडितले पत्रकार सम्मेलन गर्दै भने – ‘आश्रममै मरेको भए लास पाऊँ , बाँचेको भए भेट्न पाऊँ’

काठमाडौं, १३ पुस । भगवान भन्दै पुजा गरेको व्यक्ति नै पिशाच बनेपछि पिडित परिवारहरु मिडियामार्फत सरकार गुहार्न आइपुगेका छन् । प्रसङ्ग जोडौं ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको, जसलाई बर्षौंदेखि सिदार्थ भगवानको अर्को रुप भन्दै दुनियाले पुजा गरे र भगवान माने । तर वास्तविकता ठिक बिपरित रहेको कुरा केहि समय अगाडी नै थाहा भैसकेको छ ।

बम्जनको आश्रमबाट धेरै मानिस हराएको भन्दै उनका आफन्तले सरकारसंग खोजिदिन आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका हुन् ।

नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको उनकी दिदी गंगामायाले बताइन्। ‘मेरो साहिँली बहिनी बेपत्ता भएको ६ वर्ष भयो। बहिनी मरेको भए लास पाऊँ, बाँचेको भए भेट्न पाऊँ,’ उनले भनिन् ।

चिनीमाया तामाङ सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको बताइएको छ ।

मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाका बुवा पनि बम्जनकै आश्रमबाट बेपत्ता भएको उनका छोरा महेन्द्र वाइबाले बताए ।

बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफनतलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन् ।

‘अहिलेसम्म भगवान् हुन भन्दै पूजा गरियो; वास्तविकता त्यस्तो रैनछ। हाम्रा बेपत्ता मानिसको खोजी गरिदिनुपर्‍यो,’ वाइबाले भने ।