‘पिँडिमा बसेर मेरै बाटो हेरेर’ गीतका गायक बुद्धिकृष्णको ६० बर्षको उमेरमा निधन !

काठमाडौँ, १३ पुस । ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’ चर्चित गीतका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।

६० बर्षीय लोक गायक लामिछानेको शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

लामो समय देखि विभिन्न रोगबाट पिडित लामिछाने प्यारालाइसिस र मृगौलालगायतका रोगबाट समेत पीडित थिए । उनका २ छोरा छन् ।

२०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा जन्मिएका उनी नेपाली लोक संगीत क्षेत्रमा अत्याधिक चर्चित गायक मानिन्छन् ।

‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर / गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु/ पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ जस्ता लोकप्रिय गीत गाएर नेपाली लोक संगीतमा गहिरो छाप छोड्न सफल बुद्धिकृष्णले लोक गायकको रुपमा लामो समय सम्म रेडियो नेपालमा योगदान पनि दिएका थिए ।

गायन मात्र नभई स्वर्गीय लामिछाने अभिनयमा सक्रिय थिए । हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरुमा पनि अतिथी भूमिका निर्वाह गरेका थिए ।