धरानको भानुचोकमा बन्ने भयो यस्तो सुन्दर पार्क, सवारीसाधन प्रवेश निषेध !

धरान, १३ पुस । उसै त सुन्दर पर्यटकीय नगरी धरान अब झनै सुन्दर बन्ने भएको भएको छ ।

धरान उपमहानगरले अघि सारेको योजनाअनुसार धरानको व्यस्त बजार भानुचोक अझ ब्यबस्थित हुने भएको हो ।

शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजना अन्तर्गत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले जानकारी दिए ।

कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण हुनसक्यो भने अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ । उक्त क्षेत्रमा सवारी निषेध गरिने छ । त्यहाँ सञ्चालन हुँदै आएको बसपार्क धरान–८ स्थित सुन्दरबस्ती स्थानान्तरका लागि निर्णय भइसकेको छ ।

भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ ।

भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोरा निर्माण हुने इञ्जिनीयर श्रेष्ठले बताए ।

हाल रहेको आधा कदको भानुको शालिकलाई हटाएर पूर्णकदको भानुभक्तको सालिक राखिनेछ ।