विवादास्पद एसिया प्यासिफिक समिटको बारेमा अध्यक्ष ओली शुक्रबार पनि नबोलेपछि भीम रावल कड्किए, बैठकमा कोलाहल मच्चियो !

काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा विवादास्पद एसिया प्यासिफिक समिटको बारेमा फेरि चर्को बहस भएको छ ।

शुक्रबार पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसबारे केहि नबोलेपछि नेकपा नेता भिम रावल कड्किएका छन् ।

रावल लगायत बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । तर, त्यसमा आत्मालोचना भने नहुने एक नेताले बताए ।

शुक्रबारको बैठकमा नेता रावलले यस बारे नेतृत्वले आत्मालोचना गर्नुपर्ने अडान राखेपछि बैठकमा हल्लाखल्ला मच्चियो ।

यो माहोललाई शान्त पार्न अध्यक्ष प्रचण्डले ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन’ भन्दै पार्टीले वक्तव्य दिन्छ भन्दै रावललाई थुमथुम्याउने प्रयास गरे । साथै बक्तब्यको जिम्मा सुवास नेम्वाङ र रघुजी पन्तलाई दिए ।

‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन । एसिया प्यासिफिक समिटका क्रममा सरकार र संसदको लोगो प्रयोगलाई लिएर प्रश्न आएको भन्दै आउँदा दिनमा सावधानी अपनाइनेछ भन्ने बक्तब्य आउन सक्छ ’, एक नेताले भने ।

यद्यपी नेता रावलले भने फरक मत राख्ने बताएका छन् ।