विश्वच्याम्पियन महेश्वरका फिटनेस सूत्र जान्नुहोस्

काठमाडौं, १३ पुस । १०औँ विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस् च्याम्पियनसिपका स्वर्ण पदक बिजेता बडीबिल्डर महेश्वर महर्जनले पाएको सफलता शारीरिक सुगठनमा नेपालले प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

थाइल्यान्डमा सम्पन्न उक्त प्रतियोगितामा महर्जनले नेपाललाई स्वर्ण पदक दिलाएर सम्पूर्ण नेपालीलाई गौरवान्वित मात्रै तुल्याएनन् नेपालको नाम विश्वभर चिनाउन पनि सफल भए ।

०५४ सालमा स्कुल पढ्दादेखि नै शारीरिक व्यायाम (सुगठन) सुरु गरेका महेश्वर हाल ३६ वर्ष पुगिसके । उनी शारीरिक रूपमा फिट छन् । फिट भएकै कारण उनी शारीरिक सुगठनजस्तो शारीरिक रूपमा पूर्णतः फिट हुनुपर्ने खेलमा च्याम्पियन बन्न सकेका हुन् । उनि यस्तो फिट रहन के गर्छन् ? उनले बताएका फिटनेस सम्बन्धि टिप्स यस्ता छन् –

डाइट :

प्रत्येक मानिसको शरीर फरक–फरक हुने भएकाले आवश्यकता पनि फरक हुने गर्छ । त्यसमा पनि खेलाडी भएपछि आममानिससरह सामान्य रूपमा फिट रहनु पर्याप्त हँुदैन । एउटा बडीबिल्डरको हिसाबले क्लिन र हाइजेनिक डाइट आवश्यक हुन्छ । म कुखुराको मासु, फलफूल, उसिनेको अन्डा, रातो चिउरा, सागपात र नटहरू खाने गर्छु । खेलको समयमा चिल्लो, पिरो, भात र नुन आदि खान्नँ । यसले खेलको समयमा शरीर सन्तुलनमा राख्न मद्दत गर्छ ।

जिम :

म खेलको समयमा दैनिक आठ घन्टा जिम गर्छु । मैले लामो समय फिटनेसको क्षेत्रमा काम गरिसकेको छु । आफैँ पनि जिम सेन्टर सञ्चालक हुँ । नियमित जिम गर्दा आफूलाई चाहिएको आकारमा शरीर मेन्टेन गर्न सकिन्छ ।

व्यायाम :

फुर्सदको समयमा म व्यायामसमेत गर्ने गर्छु । प्रत्येक दिन बिहान दौडिएपछि घरमै आएर व्यायाम गर्छु । खाना खाँदा पाइने क्यालोरीको मात्रालाई शरीरमा सन्तुलित बनाउन दैनिक व्यायाम
गर्न आवश्यक छ ।

अभ्यास :

खेलमा सफल हुन अभ्यास गर्न जरुरी छ । यसले खेलकौशलसँगै आत्मविश्वास पनि बढाउने काम गर्छ । म दैनिक दुई घन्टा खेलको अभ्यास गर्ने गर्छु । जसले मलाई फिट रहन थप सहयोग गरेको छ ।

खेलकुद : बडीबिल्डङबाहेक साइक्लिङ, स्केटिङ, दौडजस्ता खेल खेल्ने गर्छु । यसले मेरो खेल (शारीरिक सुगठन)लाई सपोर्ट पु-याउँछ ।