भ्रष्टाचारको अभियोग लागेका पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा रोक

काठमाडौं, १३ पुस । भ्रष्टाचारको अभियोग लागेका पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

सरकारले बिहीबार सूचना जारी गर्दै जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हो ।

सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ उनले भने ।

पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी हाल प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष छन् ।