कर्मचारी समायोजनविरुद्ध आन्दोलनको घोषणा गरिए ट्रेड युनियन नै खारेज गर्ने सरकारको चेतावनी !

काठमाडौं, १३ पुस । सरकारले संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसको विरोधमा कर्मचारी उत्रेपछि ट्रेड युनियनप्रति सरकार आक्रामक बनेको छ ।

कर्मचारी समायोजनमा असहयोग गरे सबै ट्रेड युनियनहरू नै खारेज गर्ने गरी सरकारले गृहकार्य अघि बढाउने भएको छ ।

ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउने गृहकार्य अघि बढाइएको हो ।

‘उनीहरूले आन्दोलन घोषणा गरे भने सरकारले पनि संघीय निजामती सेवा ऐनमा युनियन खारेजीको व्यवस्था गर्ने निश्चित छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भने ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि समायोजनविरुद्धको कर्मचारीको रवैयाप्रति असन्तुष्ट बनेका छन् । उनले पनि समायोजनविरुद्ध आन्दोलनको घोषणा गरिए युनियनको अस्तित्व नै समाप्त हुने चेतावनी दिए । ‘रहने कि समाप्त हुने भन्ने कुरा युनियनहरूकै हातमा छ, सकारलाई सहयोग गरे राखिन्छ, असहयोग गरे भने खारेजीमा पर्नेछन्,’ मन्त्री पण्डितले भने ।

हाल आधिकारिक ट्रेड युनियनलगायत राष्ट्रिय स्तरका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल राष्ट्रिय कर्मचारी संगठन गरी तीन र क्षेत्रीय स्तरको मधेसी कर्मचारी मञ्च एक रहेको छ ।