भान्सामा प्रयोग हुने मसलाको यति धेरै लाभदायी औषधि हुने

हामी नेपाली ‘स्वादे जिब्रो’ भएका प्राणी हौं । जुन खुर्सानी मरमसला चट्ट घुलेको खाना मनपर्छ हामीलाई ।

हाम्रो पाकशास्त्रमा मसलाको अहम भूमिका छ । मसलाको काम खानालाई स्वादिलो सुगन्धित बनाउनु हो । हाम्रो भान्सामा दैनिक प्रयोग हुने अधिकांश मसला विदेशबाट आउँछन् ।

मरिच भियतनाम र भारतबाट आउँछ, सुकुमेल ग्वाटेमालाबाट आउँछ, दालचिनी र सुपारी सिंगापुरबाट आउँछन् भने ल्वाङ ब्राजिलबाट आउँछ ।

नेपाली मसला बजारमा भारतबाट आउने मसलाले ठूलो हिस्सा ओगटेको छ । भारतबाट कम खर्चमा सजिलै सामान ल्याउन सकिनु यसको मुख्य कारण हो ।

जिरा, धनियाँ, ज्वानो, मेथी, जाइफल, बेसार, खुर्सानी, प्वाज, लसुन आदि भारतबाटै आउँछन् ।

हामीले दैनिक उपभोग गर्ने मसला प्रायः भारतबाट आउने गरेको छ । यसबाहेक सिंगापुर, ब्राजिललगायत अन्य मुलुकबाट पनि मसला भित्रिने गरेको पाइन्छ ।
हाम्रो भान्सामा सधैं मौजूद रहने मसलाहरुमध्ये केही मसलाहरुको औषधिय गुणले पनि उत्तिकै भरिपूर्ण छ ।

केही मसलाहरुको फाइदाबारे जानकारी राखौं ।

१. जीराः

जीरा सुगन्धित तथा पाचनशक्ति भएको एकप्रकारको मसला हो । यसमा आइरन र क्याल्सियम हुन्छ । जीरामा एण्टी क्यान्सरको गुण हुन्छ ।

भोजनमा अरुचि, पेट फुलेमा वा अपच भएमा जीराको प्रयोग उपयुक्त हुन्छ । यो नेपालीको भान्सामा अधिकतम प्रयोग हुने मसलामध्येको एक हो । यसको प्रयोगले तरकारी स्वादिलो हुन्छ ।

प्रसूतिपछि जीरा सेवन गर्दा गर्भाशयको सफाइ हुने विज्ञहरुको भनाइ छ । यो गरम प्रकृतिको मसला भएकाले अधिक प्रयोग पनि उपयुक्त नहुने उनीहरुको सुझाव छ । विश्वमा जीराको उत्पादन भारत, इराक र चीनलगायत मुलुकमा हुने गर्दछ ।

२. मरीचः

मरीच लहरा जातिको बिरुवामा फल्ने फल हो । यसको फललाई गरम मसलाका रुपमा प्रयोग गरिन्छ । मरीच अजीर्ण, पेटमा हावा भरिएमा, शीत ज्वरो, चर्मरोगलगायत रोगका लागि उपयोगी मानिन्छ ।

३. खुर्सानीः

नेपालीको भान्सामा सुर्खानीको प्रयोगले प्राथमिकता पाउँछ । यसले मोटोपन घटाउन सहयोग गर्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ ।
४.बेसारः

बेसार नेपालसहित अन्य एशियन मुलुकमा प्रचलित मसला हो । नेपालीको भान्सामा यसको प्रयोग अधिकतम प्रयोग हुन्छ ।

यसलाई तरकारीमा रङका लागि प्रयोग गरिन्छ । एशियन मुलुकमा बेसारको प्रयोग करीब २ हजार वर्षअघिबाट भएको मानिन्छ ।

यो अदुवाजस्तै जमीनमुनि फल्ने एकप्रकारको मसलाजन्य पदार्थ हो । यसले शरीरलाई गर्मी प्रदान गर्नुका साथै कफ र जण्डिस (कमलपित्त)बाट बचाउने आयुर्वेद ज्ञाताहरु बताउँछन् ।

यसले रगत सफा गर्ने र छालासम्बन्धी रोगको निदान गर्ने उनीहरुको भनाइ छ । बेसारमा सूक्ष्म जीवाणु नष्ट गर्ने विशेष तत्व(एण्टी ब्याक्टेरियल) हुन्छ ।

त्यस्तै, बेसार विषनिरोधक प्राकृतिक पदार्थ पनि हो । घाउमा यसको लेप लगाउनाले फाइदा हुन्छ । तातो दूधमा बेसार मिसाएर पिउँदा सर्दी, शरीर दुखेको र हाडलाई बलियो बनाउन सहयोग गर्छ ।

५. मेथीः

मेथीको साग तरकारी र बीउ मसलाका रुपमा प्रयोग गरिन्छ । यो मधुमेहलगायत रोगका लागि उपयोगी हुन्छ ।

ग्याष्ट्रिक भएकाहरुका लागि पनि मेथी प्रयोग गरिएको खाना उपयोगी हुन्छ । यस्तै उच्च रक्तचाप भएकाहरुका लागि मेथीको अचार दिनहूँ सेवन गरेमा फाइदा पु¥याउँछ ।
६. ल्वाङःल्वाङ फूलको कोपिला हो । यसको तेल दन्तशूल, मुखरोग, अम्लपित्त, खोकीलगायत समस्याका लागि उपयोगी हुन्छ ।

यसमा एण्टीबायोटिक, एण्टीसेफ्टिकलगायत गुण हुन्छन् । यसले दुखेको कम गर्न मद्दत गर्छ । ल्याङलाई गरम मसलाका रुपमा समेत प्रयोग गरिन्छ ।

७. ज्वानोः

ज्वानो एकप्रकारको गरम मसला हो । यसको प्रयोग अजीर्ण, पेट दुखेकोलगायत रोगका लागि गरिन्छ ।

८. धनिया

धनिया स्वाद र बासनाका लागि प्रयोग हुने औषधिय गुण भएको मसला हो । यसको हरियो बोटको प्रयोग खानाको सजावट, स्वाद तथा सुगन्धका लागि गरिन्छ ।

यो ताजा मसलाका रुपमा अचारमा बढी प्रयोग हुन्छ । यसको बीउलाई सुकाएर अन्य मसलाजस्तै प्रयोग गर्न पनि सकिन्छ ।

९. तेजपत्ताः

यसले खानाको स्वाद बढाउँछ । यसमा एण्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसैले, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । तेजपत्ता दालचिनीको पात हो । विशेषगरि मासु पकाउँदा स्वाद र सुगन्धका लागि प्रयोग गर्ने गरिन्छ ।

१०. सुकुमेलः

सुकुमेल गरम मसलाका रुपमा प्रयोग हुन्छ । यो समुद्र तटीय क्षेत्रमा उत्पादन हुन्छ । यसको फल मुख रो, श्वास, अरुचि, बमन, दुर्बलतालगायत रोगमा प्रयोग गरिन्छ ।

११. दालचिनीः

दालचिनी तेजपातको बोटको बोक्रा हो । यो गरम मसलामा प्रयोग हुन्छ । यसले रगतमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

दालचिनीको स्वाद मीठो हुन्छ । यसको पातलाई तेजपात भनिन्छ । यो पनि मसलाकै रुपमा प्रयोग हुन्छ ।

विेशषज्ञहरुका अनुसार दालचिनीको प्रयोगले मधुमेह र मुटुको रोग निको पार्न सहयोग गर्दछ ।

दालचिनी सुगन्धित पार्न र वायुशमन गर्न प्रयोग गरिन्छ । यसले बमन रोक्छ । यसको बोक्रामा शून्य दशमलब ५ देखि १ प्रतिशतसम्म तेलको मात्रा हुन्छ । यसको तेल दाँतको औषधिका रुपमा प्रयोग हुन्छ ।

१२. टिमुरः

टिमुर दाँतसम्बन्धी रोगका लागि उपयोगी मसला हो । यो मुखमा दुर्गन्ध आउने, ज्वरो, अजीर्ण, महामारी, हैजा, टाउको दुखेकोमा बढी उपयोगी छ । यसलाई रुघाखोकी र पेट दुखेको बेलामा पनि प्रयोग गर्न सकिन्छ ।

१३. अदुवाः

अदुवा मसला र औषधिका रुपमा प्रयोग हुने फल हो । हाल नेपालमा अदुवाको व्यवसायीक खेती हुन थालेको छ । यसको गानो रेसादार हुन्छ । अदुवा सर्दी हटाउन र स्वादका लागि उपयोगी हुन्छ ।

१४. जाइपत्रीः

जाइपत्री दुखेको कम गर्न, गर्मी बढाउन, अजीर्ण तथा शूलको रोग हटाउनका लागि उपयोगी हुन्छ । विशेष गरी यसको प्रयोग मसलाका रुपमा गरिन्छ ।

१५. हिङः

यसले खानाको स्वाद बढाउँछ । पेट दुखेमा औषधिका रुपमा पनि यसको प्रयोग गरिन्छ । दाँत दुखेको बेला गालामा हिङको लेप लगाएमा दुखेको कम गर्न सहयोग गर्छ ।