बङ्लादेशमा आइतबार निर्वाचन हुँदै, प्रचारप्रसार बन्द गरियो

ढाका, १२ पुस । राजनीतिक तनाव र हिंसाका बीच बङ्लादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ ।

शुक्रबारदेखि मौनअवधि सुरु हुने भएकाले बिहीबार साँझदेखि चुनावी प्रचारप्रसारका कार्यक्रम बन्द भएको हो ।

आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन् । निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दावी गर्दै आउनु भएको छ भने विपक्षीहरुले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् ।

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफू विरुद्ध बम आक्रमण गराएको आरोप लगाउनु भएको छ भने उहाँलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दावी गरेको छ । विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा हुनुहुन्छ । ७३ बर्षीयजिया पूर्वसैनिक तानाशाहकी विधवा हुनुहुन्छ ।

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् ।