कालीमाटी बजारमा सामान्य सुधार

काठमाडौँ, १२ पुस। सरकारले सकारात्मक प्रयास गरे पनि कालीमाटी तरकारी तथा फलफूल बजारमा उल्लेख्य परिवर्तन हुन नसकेको पाइएको छ । त्यहाँ सामान्य सुधार भएको पाइएको छ ।

कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा बजारमा केही सुधार भए पनि पूर्णरुपमा सुधार आउन अझै केही समय लाग्ने देखिएको हो । अनुगमनका क्रममा राज्यमन्त्री चौधरीले नियम, कानून र मापदण्ड उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले कानून सबैलाई समानरुपमा लाग्ने र उल्लङ्घन गरे कारवाही गर्न सरकार पछि नहट्ने बताउनुभयो ।

गत जेठ २१ गते मन्त्री चक्रपाणि खनालले अनुगमन गरेपछि सुधारको अवस्था बुझ्न राज्यमन्त्री चौधरी आज कालीमाटी पुग्नुभएको हो । उहाँले पहिलेको तुलनामा सरसफाइ र व्यवस्थापनमा केही सुधार भए पनि अरु धेरै सुधार गर्नुपर्ने ठाउँ रहेको बताउनुभयो । “पहिलोपटक अनुगमनमा आउँदा निकै अस्तव्यस्त र फोहर थियो,” उहाँले भन्नुभयो, “केही कमि आएको छ, यतिले मात्र पुग्दैन ।”

राज्यमन्त्री चौधरीसँग व्यवसायीले तरकारी तथा फलफूल बजार सानो भएको र कृषिउपज ढुवानी गर्ने सवारी साधान निर्वाध प्रयोगमा समस्या रहेको गुनासो गरेका थिए । कूल ४५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजारमा ५६३ कक्ष छन् । जेठ २१ गते मन्त्री खनाल र राज्यमन्त्री चौधरीको अनुगमनपछि कारवाहीका लागि सिफारिश गरिएका ९८ व्यवसायीलाई कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्पष्टीकरण सोधी ५७ जनाको इजाजत खारेज गरेको थियो । रासस