गगन थापाको प्रचण्ड र ओलीप्रति व्यंग्यात्मक झटारो : ‘यी जोडी पाइलटले देश चलाउन जान्दैनन्, अरुलाई पक्रन र थुन्न मात्र आउँछ’

काठमाडौं, १२ पुस । कम्युनिस्ट सरकार बनेपछि देशमा बिकासको गति तिब्र हुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसका युवा नेता गगन थापाले गज्जबको टिप्पणी गरेका छन् ।

राजधानीमा बिहिबार गरिएको पत्रकार सम्मेलनमा थापाले प्रचण्डको अभिव्यक्तिमा व्यंग्यात्मक टिप्पणी गर्दै नेपालको राजनीतिक प्रणालीमा उनी फिट हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘नेपालका कम्युनिस्ट पार्टीले नाम जे राखे पनि प्रजातान्त्रिक अभ्यासमा रहेर संसदभित्र बोल्नका लागि बेग्लै सीप चाहिन्छ’, उनले जोडे,‘नेपालको सिस्टम लोकतान्त्रिक प्रतिस्पर्धात्मक भएका कारणले कोही पनि ली क्वान यीउ बन्छु नभने हुन्छ । यस्तो व्यवस्थामा काम गर्नका लागि जुन सीप चाहिन्छ त्यो प्रचण्डहरूमा छैन ।’

उनले थपे,‘कम्युनिस्टलाई संविधान, कानुन र त्यसको दायरामा बसेर गरिने कामका बारेमा आउँदैन । आज मात्र होइन, अझ ५० बर्षसम्म पनि जान्दैनन् । प्रचण्डमा त्यो ज्ञान छैन । यी जोडी पाइलटले चलाउन जान्दैनन्, कम्युनिस्टलाई पक्रने र थुन्न मात्र आउँछ ।’