सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता बनाइने : अध्यक्ष गोविन्द आचार्य

दमौली, १२ पुस । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहँुको संयोजनमा आज दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन÷प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । “आचारसंहिता बनाउन महासङ्घका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,” उहाँले भन्नुभयो ।

उहाँले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । पत्रकारले प्रकाशन÷प्रशारण गर्ने सामग्री आचारसंहिताबमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पत्रकारिता पेशामा क्रियाशील नरहेका महासङ्घका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको छ, यसलाई कार्यान्वयन गर्छौं”, उहाँले भन्नुभयो ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासङ्घको धारणा रहेको चर्चा गर्दै उहाँले सङ्घीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन÷प्रशारण गर्नुपर्ने बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सञ्चारमाध्यमको प्रवद्र्धनका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो । पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष विश्वबन्धु भण्डारी, प्रदीप काफ्ले, डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेललगायतले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गर्नुभयो । रासस