कृष्ण सिटौलाले दायाँ बायाँ युवा नेतालाई राखेर गरे छुट्टै पत्रकार सम्मेलन !
काठमाडौं, १२ पुस । नेपाली कांग्रसका नेता कृष्णप्रसाद सिटौलाले राजधानीमा पत्रकार सम्मेलन गरेका छन् ।
कांग्रेसभित्र भिन्नै गुट चलाइरहेका सिटौलाले युवा नेताहरुलाई दायाँ बायाँ राखेर आज पत्रकार सम्मेलन गरेका हुन् ।
युवा नेताहरु गगनकुमार थापा र उमाकान्त चौधरीलाई राखेर सिटौलाले १४ औं महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गरे।
महासमिति बैठक सकिँदा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग हात मिलाएर एकताको सन्देश दिएका सिटौलाले बैठक सम्पन्न भएको एक साता नबित्दै आफूपक्षका नेता राखेर पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा सिटौला दुइटा मुद्दामा केन्द्रीत भए । पहिलो, १४ औं महाधिवेशन जेठभित्रमा गर्ने र दोश्रो शीघ्र महाधिवेशन नगर्ने भए विधानको संक्रमणकालीन व्यवस्था अनुसार वडादेखि केन्द्रसम्मका संघीय संरचनामा अधिवेशनबाट नेतृत्व ल्याउने ।
‘केन्द्रीय कार्यसमितिले छ महिनाभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएर जानुपर्छ । होइन भने संक्रमणकालीन व्यवस्थामा गएर तलदेखि माथिसम्म सर्वसम्मत वा चुनावबाटै कार्यसमिति बनाउनुपर्छ,’ सिटौलाको दावी गरे ।
