मनिषा कोइरालालाई वैकल्पिक पार्टीबारे सोच्न विवेकशील साझाका रवीन्द्र मिश्रको आग्रह

काठमाडाैं, १२ पुस । पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवमा चर्चित साहित्यकारदेखि राजनीतिज्ञ र कलाकारसम्म सहभागी भएका थिए ।

यहि महोत्सवमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइरालाको पनि जम्काभेट भएको थियो । उनीहरु पहिलोपटक यसरी आमनेसामने भएका थिए । मिश्रले फेसबुकमा मनिषासँगको फोटो सेयर गर्दै भेटघाटको प्रसंग उल्लेख गरेका छन् ।

यहि भेटमा मिश्रले मनिषालाई वैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्न आग्रह गरेको छन् । ‘मनिषा जी, तपाईंमा राजनीतिक रगत छ, वैकल्पिक पार्टी निर्माणमा ठोस भूमिका निर्वाह गर्नुभयो भने त्यसको देशव्यापी असर कस्तो पर्ला एकपटक गम्भीरतापूर्वक विचार गरिदिनोस । मनिषा कोइरालासँग पहिलोपटक राम्ररी भेट हुँदा यति नभनिरहन सकिनँ,’ फेसबुकमा उनले लेखेका छन् ।

यसमा मनिषाले कस्तो जवाफ दिइन् भन्ने चाहिँ उनले बताएका छैनन् । उनले भनेका छन्, ‘यो हाम्रो अनौपचारिक कुराकानी थियो, त्यसैले मनिषाजीको अनुमति बेगर त्यो कुराकानीलाई बाहिर ल्याउन मिल्दैन,’ मिश्रले भने ।